जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा बाटो अवरुद्ध
जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् । त्यसैले थली सडकखण्डमा सन्चालन हुने सबै सवारी साधनहरूलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।
यसैगरी ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्डमा पनि स्थानीयले यातायात अवागमन अवरुद्ध पारेका छन् । सडक कालोपत्रे गर्न माग गर्दै स्थानीय सो सडकखण्ड अवरुद्ध पारेको आज लगातार तेस्रो दिन हो ।
चिबहाल र सुनाकोठीमा बाँसका भाटा तेर्स्याएर स्थानीयले सडक बन्द गराउँदा सवारी आवागमन प्रभावित भएको छ । ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्णरुपले नसकिएसम्म सवारी साधन चल्ने नदिने स्थानीयले बताएका छन् ।