गाडी दुर्घटना हुँदा पाँचथरमा ११ जना घाइते
पाँचथरको फिदिमस्थित सारंगे डाँडामा सोमबार दिउँसो यात्रु बोकेको बोलेरो दुर्घटनामा पर्दा ११ जना घाइते भएका छन्।
इटहरीबाट ताप्लेजुङतिर जाँदै गरेको को १ ज २८४६ नम्बरको बोलेरो फिदिम २ स्थित सारंगे डाँडामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
‘आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो,’ पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले भने, ‘११ जना यात्रु सबै घाइते छन्।’
उनका अनुसार यात्रुमध्ये इटहरी ५ की मैया थापा गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा चोट देखिएको छ। पाँचथरमा प्रारम्भिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि झापा पठाइएको उनले जानकारी दिए।
‘यहाँ प्रारम्भिक उपचार गरेर झापा पठाइएको छ,’ प्रहरी निरीक्षक विश्वकर्माले भने, ‘उहाँहरू पुग्ने क्रममा हुनुहुन्छ। कसको कुन अस्पतालमा उपचार हुने टुंगो भएको छैन।’