ओलीले उद्घाटन गरे दुर्गा प्रसाईंले दुई अर्बमा खोलेको तरकारी बजार
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा स्थापना भएको तरकारी बजारको उद्घाटन गरेका छन्।
झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा सञ्चालनमा ल्याएको तरकारी पसलको ओलीले बुधबार उद्घाटन गरेका हुन्।
बजारको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। सूर्यविनायक नगरपालिका-८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।
उद्घाटनपछि ओलीले प्रसाईंले जुन सोच अगाडि सारेर तरकारी बजार खोले उनी धन्यवादको पात्र रहेको बताए।
प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएका छन्। तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र दुई हजार दुई सय स्टल राखिएको प्रसाईंले बताए।
तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन्। तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए।
तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए।