अस्थायी संरचना बनाएर चैतभित्रै मेलम्चीको पानी काठमाडौं झार्ने तयारी
मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ खानेपानी मन्त्रालयले काम गरिरहेको छ।
अस्थायी रूपमा संरचना निर्माण गरेर मन्त्रालयले मेलम्चीको पानी काठमाडौं ल्याउन काम गरिरहेको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।
गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो। मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार सुरूङको गेट नम्बर १, ९ र ३८ सफा भइरहेको छ।
यस्तै, अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम भइरहेको उनले बताए।
मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्।