पर्सामा भाइरल ज्वरोको प्रकोप बढ्यो, नारायणी अस्पतालमा बिरामीको चाप
पर्सामा अहिले ‘भाइरल ज्वरो’ को प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता लक्षणका विरामीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको हो । अहिले नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमध्ये ७० देखि ८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । वीरगंज स्थित नारायणी अस्पतालमा दैनिक १ सयदेखि १ सय २५ जनाको संख्यामा चेकजाँचका लागि आउने विरामीहरुमध्ये ७०÷८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. उदयनारायण सिंहका अनुसार हाल गर्मी बढेसँगै भाइरल ज्वरो, सर्पदँश, झाडापखाला जस्ता विरामीहरुको संख्या बढेको हो, जसमा भाइरल ज्वरोका विरामीहरुको संख्या बढि छ । मौसम परिवर्तन भएपछि भाइरस सक्रिय भई भाइरल ज्वरोका विरामीहरुको संख्या बढेको भन्दै डा. सिंहले तुलनात्मक रुपमा भाइरल ज्वरोका विरामीहरुको संख्या वृद्धि हुँदै गएको देखिन्छ तर गम्भिर अवस्थाका विरामीहरु नभई सामान्य ज्वरो, रुघाखोकी जस्ता विरामीहरु अहिले बढि आउने गरेको बताए ।