आगामी बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिन्छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरेका छन् ।
नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले अर्थतन्त्रका बारेमा धेरै कोणबाट चिन्ता भइरहेको भन्दै उनले बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरेका हुन् ।
किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून् भन्ने आफूले चाहेको भन्दै उनले व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउने बताए । उनले बजेट सबैको अपनत्व हुने गरी निर्माण गरिने समेत बताए ।
कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने उनको भनाइ छ ।