पोखराको मुख्य प्रवेशद्वार नै हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य
पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ ।
पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् । पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् ।
‘पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौसम्म पनि यस सडक खण्डको स्तरोन्नति हुन नसकेकामा प्रश्न गर्ने गरेका छन्’, उनले भने, ‘पोखराकै प्रवेशद्वार कोत्रे सडकखण्डले सरोकारवाला जो कोहीलाई गिज्याइरहेको छ ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग सकिएको अवस्थामा पनि पोखरासँग जोडिएका सडक राम्रो बन्न नसक्नुले समग्र पर्यटनमा दिने सङ्केत राम्रो नहुने जनाउँदै उनले यसतर्फ चाँडै नै सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताए । चार वर्ष लगाएर विमानस्थल बन्दै गर्दा त्यहाँ गरिएको राज्यको ठूलो लगानीलाई प्रतिफलयुक्त बनाउनका लागि पनि जोडिएका सडक पूर्वाधारलाई व्यवस्थित गर्नु जरुरी रहेको उनको भनाइ छ ।