नयाँ दिल्लीमा नोभेम्बरमा विगत ६ वर्षयता सबैभन्दा बढी प्रदूषण
नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ । नोभेम्बरमा कूल ११ दिनमा वायु प्रदूषणको मात्रा अत्यधिक नराम्रो रहेको उक्त संस्थाले जनाएको छ । यो सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो ।
त्यसो त तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको बीबीसीले उल्लेख गरेको छ । विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् । भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो ।
लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापनसम्बन्धी निकायका डा. गुफ्रान वेगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
“गएका वर्षहरूमा भन्दा यो वर्ष नोभेम्बरमा धेरै वायु प्रदूषण देखिनुमा दिपावलीका अवसरमा हुने गतिविधि र किसानले खेतमा मलका लागि नल पराल (छापो) प्रमुख कारका हुन्,” उनले बताए ।
नासाको भूउपग्रह तथ्याङ्कले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ। काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च सङ्ख्या हो ।