अभिभावकद्वारा विरोध
जंगलको नजिकै शान्त, पारिवारिक वातावरण, सिंगाे गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ ।
अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय पठाएपछि यतिखेर यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन् । स्कुलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन् ।
अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरी अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताए । उनले भने, 'बिहीबार साँझ केही अभिभावकसँग भर्चुअल बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय सुनाएपछि बन्द नगर्न सबै अभिभावकले सहयोग गर्ने बताउँदा पनि व्यवस्थापनले मानेन, मध्यराति सबै अभिभावकलाई विद्यालय बन्दको निर्णय पठायो ।' कक्षा ८ र ९ मा पढ्दै आएका आफ्ना बच्चा मात्रै नभई यस स्कुलमा पढ्ने सबै विद्यार्थी र अभिभावक चिन्तामा परेको उनी बताउँछन् । कोभिडको मारमा सबै विद्यालय परेको र सबैले नोक्सान बेहोर्दा पनि अरु विद्यालय बन्द नहुने तर शुभतारा बन्द गर्नु कोभिडको बहाना मात्रै भएको उनको भनाइ छ ।
कक्षा १ देखि १० सम्म पढाइ हुँदै आएको यो विद्यालयले आर्थिक संकटको बहाना बनाउँदै बन्द गर्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अभिभावकको गुनासो छ । विद्यालयका संस्थापक निर्देशक कक्षपतिले राति पठाएको इमेलमा विद्यालयमा अध्ययनरत ३६५ विद्यार्थी र ११९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकहरुले शुल्क नतिरेको, शुल्कको भार विद्यालयमा धेरै हुँदा दुई करोड घाटा लागेकाले आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने जानकारी गराइएको छ ।
कलंकी रविभवन निवासी अर्का अभिभावक सोफिया श्रेष्ठले अभिभावकको भावनाविपरीत विद्यालयले गलत निर्णय लिएको बताइन् । 'अधिकांश अभिभावकले शुल्क तिरेका छन्, केहीको बाँकी रहेको एक/दुई महिनाको शुल्क पनि लकडाउनपछि तिर्ने भनेकै थियौँ, आर्थिक संकट परे थप सहयोग गर्न तयार छौँ भनेर सबै अभिभावकले भन्दा पनि विद्यालय बन्द गर्ने एकल निर्णय गर्नुभयो,' उनले भनिन् ।
हालसम्म २० वटा एसईई ब्याच सफलतापूर्वक पास भएको शुभताराका विद्यार्थी भने ललितपुरमै रहेको न्यू मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको छ । विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भई विद्यार्थीलाई नतिजासमेत वितरण गरिसकिएको छ ।
विद्यालय बन्दको निर्णयप्रति रुष्ट हुँदै अभिभावक शिवशंकर मानन्धरले भने, 'शुभतारा अर्को विद्यालयसँग ‘मर्ज’ गर्ने भनिए पनि विद्यार्थी बिक्री गर्ने प्रयास भएको छ, ‘मर्ज’ भनेको दुई विद्यालय गाभिनु हो तर यहाँ त एउटा बन्द गरेर विद्यार्थी अर्कोमा पठाउने भनिएको छ, त्यो सरासर विद्यार्थी बिक्री गर्ने प्रयास हो, विद्यालय चलोस्, हामी थप सहयोग गर्न तयार छौँ ।'
अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले भने कोरोनाको महामारीको बेलामा अभिभावकको भावनाविपरीत विद्यालय बन्द गर्ने निर्णय गर्नु विद्यार्थी र अभिभावकमाथि घात गर्नुसरह भएको टिप्पणी गरे । विद्यालय बन्द हुन नदिन अभिभावकको दबाब आएको बताउँदै उनले अभिभावक संघकै नेतृत्वमा विद्यालय सञ्चालनका लागि आगामी २० गते व्यवस्थापन र अभिभावकसँग छलफल गराउने प्रयास भइरहेको उनले बताए । विद्यालयमा अभिभावकको पनि लगानी रहन्छ भन्दै अध्यक्ष पुरीले विद्यालयको भौतिक संरचना बिक्रीका लागि विद्यालय बन्द गर्न खोजेको आशंका व्यक्त गरे ।
महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले भने नगरपालिकाको विद्यालय सञ्चालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति रहेको बताउँदै नगरपालिकालाई जानकारी नै नगराई बन्द गरिए निषेधाज्ञा खुलेपछि छानबिन गरिने बताए ।