काठमाडौंका सीडीओ : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ ।
विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी नियन्त्रणको प्रयासमा नै असर गर्नसक्ने कतिपयको चिन्ता छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘अझै निषेधको आदेशको पालना नहुने र संक्रमणको अवस्था बढ्दै जाने हो भने गत वर्ष जस्तै पूरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ ।’ नागरिक आफैं सचेत नभएसम्म महामारी नियन्त्रणको सरकारी प्रयास सफल नहुने उनको बुझाइ छ ।