चोरी भएका २७ मोटरसाइकल दुई हप्तामै बरामद
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल दुई हप्तामै बरामद गरेको छ । सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरि बरामद गरेको हो । बुधबार एक कार्यक्रमका बीच उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुराकी तथा विशेष सूचना संकलनमार्फत टोली परिचालन गरि ती मोटरसाइकल बरामद गरेको हो ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वगर, बुढानिलकण्ठ, टोखा, नयाँ बस पार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरुबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए । उनले भने, 'हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।'
महाशाखाले ट्राफिक व्यवस्थापनसँगै मोटरसाइकल चोरी नियन्त्रणतर्फ पनि सक्रिय भई टोली परिचालन गरिरहेको छ । चोरीमा संलग्न मानिस र मोटरसाइकल नियन्त्रणको संख्यामा उल्लेख्य वृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी भएको हो । बिहीबार मात्रै करिब ८० लाखभन्दा बढी मूल्य बराबरको विभिन्न कम्पनीका मोटरसाइकलहरु सम्बन्धित धनीलाई बुझाएको छ भने यस वर्षमा करिब १६ करोड बढी मूल्य पर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
लामो समयसम्म पार्किङ, एकान्त र अध्याँरो स्थानमा पार्किङ गर्दा र अतिरिक्त लक तथा साइरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने हुनाले सम्बन्धित मोटरसाइकल धनी एवं चालक स्वयं होसियार रहनुपर्ने महाशाखाको भनाइ छ । सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ गर्दा विशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने महाशाखाको सुझाव छ ।
यस आर्थिक वर्षमा मात्रै हराएका २७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरु मार्फत् मुद्दा चलाएको महशाखाले जनाएको छ । चोरी भएको थाहा पाउन साथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइनसेवा Lost vehicle application समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।