चोरीको मोटरसाइकलसहित २ जना पक्राउ, ३० वटा मोटरसाइकल बरामद
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएको छ । महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले गोलढुंगाबाट गंगबु बस्ने अशोकमान सिं कुवरको हराएको बा९२प ९१३३ नंम्बरको निलो बुलेट बाइकचोरीमा संलग्न नुवाकोटका ३० बर्षे बिमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुंगा बस्ने आशिष खत्रीलाइ मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उक्त मोटरसाइकलको वास्तबिक नम्बर प्लेट परिवर्तन गरि बा९६प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो । महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ । उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका एसएसपी जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन् ।
कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिइदै आएको बताए । उनले भने 'यसका लागि सादा पोसाकमा समेतविशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ, त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशनमार्फत मोटरसाइकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन् ।' महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी,माछापोखरी, गोकर्णेश्वएर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका विभभिन्न स्थानहरुबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।
ट्राफिक महाशाखाले विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेकोर अन्य अनुसन्धानपश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।
चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost vehicle Application मा लगईन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।