आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै बुवा ५८ वर्षीय जुमबहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका- ३, पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका- ३२, महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
घरको भर्याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुमबहादुरको मृत्यु भएको खुल्न आएको हो । घटनास्थलबाट रगतजस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका रामकृष्णलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।