अदालतबाट भागेका लागूऔषधका थुनुवा पक्राउ
प्रहरीको आँखा छलेर जिल्ला अदालत मोरङ परिषरबाट भागेकामध्ये लागूऔषध मुद्दाका एक थुनुवा पक्राउ परेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोली मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेखलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार भारततिर जान खोज्दै गर्दा बुधबार शेख पक्राउ परेका हुन् ।
उनलाई नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको जहदा गाउँपालिका–५ डुमरीयाबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको राईले बताए । लागूऔषध ऐन अन्तर्गत मुद्दामा अनुसन्धान अघि बढाउन म्याद थप गर्न एउटै हतकडी लगाएर लगिएका दुई थुनुवा सोमबार दिउँसो ३:३० बजेतिर खाजा खाने बहानामा अदालतको क्यान्टिनबाट प्रहरीलाई छलेर फरार भएका थिए ।
फरार हुनेमध्ये एक जना झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी हुन् । चौधरी भने अझै फरार रहेको र खोजी जारी राखिएको डीएसपी राईले बताए । चौधरी हातमा रहेको हतकडीसहित भागेका थिए । शेख र चौधरीलाई एउटै हतकडीमा लगिएको भए पनि प्रहरीले खाजा खानलाई खोलिदिएर चौधरीको हातमा मात्रै छाडिदिएको थियो । हतकडी पनि फेला परेको छैन ।
अदालतले पाँच/पाँच दिनको म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार बनेको जानकारी राईले दिए । उनका अनुसार शेख ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको कटहरी र चौधरी अन्य प्रकृतिका लागूऔषधसहित विराटनगरको बरगाछीबाट आइतबार पक्राउ परेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च गुणस्तरमध्येको मानिने ब्राउन सुगरसहित शेख दुई महिनाअघि पनि पक्राउ परेको प्रहरीले जनाएको छ । त्यति बेला पनि उनीविरुद्ध लागुऔषध मुद्दा प्रहरीले चलाएको थियो । अदालतले मागेको धरौटी रकम बुझाएर छुटेका उनी पुनः ब्राउन सुगर कारोबारको धन्दामा सक्रिय भएको खुलेको जानकारी प्रहरीले दिएको छ ।
फरार रहेकामध्ये चौधरी कतातिर र कसरी भागे भन्ने यकिन हुन नसक्दा उनलाई नियन्त्रणमा लिन कठिन भइरहेको प्रहरी स्रोतले बतायो । गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई लापरबाहीका रुपमा लिएर म्याद थप गर्न लिएर गएका १५ प्रहरीमाथि कारबाही अघि बढाउन घटनाको छानबिन र अनुसन्धान थालिएको जानकारी डीएसपी राईले दिए ।