जलविद्युत आयोजनाको पर्खाल भत्किँदा दार्चुलामा दुई जना मजदुरको मृत्यु
दार्चुलामा नहरको पर्खाल निर्माण गर्ने क्रममा दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ।
अपिहिमाल गाउँपालिका-६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल भत्किँदा निर्माणको काममा खटिएका दुई जना मजदुरको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा मार्मा गाउँपालिका-१ पाकुका अन्दाजी ४५ वर्षीय बलदेव महरा र अपिहिमाल गाउँपालिका-६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामी रहेका छन्।
घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए।