प्रदेश १ मा कोरोना संक्रमण तीव्र वृद्धि
(विराटनगर) पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको प्रदेश १ मा दैनिक संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ। बुधबार तीन सय ४३ जनामा संक्रमण पुष्टि भयो। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। एक हजार तीन सय १० जनाको पीसीआर परीक्षण हुँदा एक सय ३६ महिला र दुई सय सात पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
प्रदेशमा मंगलबार तीन सय ३० जनामा संक्रमण पुष्टि भएको थियो। छ सय ६६ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३५ पुरुष र एक सय ९५ महिलामा संक्रमण पुष्टि भएको हो। प्रदेशमा सोमबार एक सय ६४ जना संक्रमित थपिएका थिए। सामाजिक विकास मन्त्रालयका अनुसार पाँच सय ९२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ७६ महिला र ८८ पुरुषको रिपोर्ट सोमबार पोजिटिभ आएको हो।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या आठ हजार चार सय ४७ पुगेको छ। एक लाख ३० हजार छ सय ७१ जनाको पीसीआर परीक्षण भएकोमा एक लाख २२ हजार दुई सय २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। संक्रमण पुष्टि भएर होम एवं विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये डिस्चार्ज हुँदै चार हजार एक सय ३२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। चार जना तीन सय १५ जनाको उपचार जारी छ।
मन्त्रालयका कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. सरोज विशालका अनुसार प्रदेशका विभिन्न कोभिड अस्पतालमा उपचाररत संक्रमितमध्ये हालसम्म ८७ जनाको मृत्यु भइसकेको छ। जसमा प्रदेश १ स्थायी ठेगाना भएका ७२ जना रहेका छन्। प्रदेश २ स्थायी ठेगाना भएका दुई महिला र १३ पुरुष गरेर १५ जना संक्रमितको प्रदेश १ मा उपचारका क्रममा ज्यान गएको छ।
दैनिक संक्रमित हुनेको संख्या बढेर अवस्था भयावह बन्न थालेकोभन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बाले लापरबाही र असावधानीका कारण पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको बताए। उचित सावधानी एवं सतर्कता अपनाउन नसक्दा र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने क्रममा चुक्दा कोरोना भुसको आगोसरह फैलिइरहेको उनको भनाइ छ। ‘कोरोनाबाट बच्न सतर्कता अपनाउने र स्वास्थ्य मापदण्डको अधिनमा रहनुको विकल्प छैन’, डा. सुब्बाले भने, ‘पछुताउनुभन्दा बेलैमा सबैले होसियारी अपनाउँदा राम्रो हुन्छ।’
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको भन्दै उनले संक्रमण हुन नदिन सबै सचेत हुनुको विकल्प नभएको बताए। ‘कोरोना लागिसकेपछि संक्रमितको अवस्था कस्तो हुन्छभन्ने यकिन हुँदैन’, सुब्बाले भने, ‘संक्रमितले धमाधम मृत्युवरण गरिरहनु परेको गम्भीर विषयलाई सबैले स्मरण गरेर त्यहीअनुसार अघि बढ्नुपर्ने बेला आएको छ।’