राजधानी पेरिससहित फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यूको घोषणा
बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै फ्रान्सले देशका ९ शहरमा रात्रिकालिन कर्फ्यू लगाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशमा कोरोनाको बढ्दो संख्यालाई हेर्दै सोको रोकथामका लागि राजधानी पेरिससहित ९ शहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म नागरिकहरू घरमै बस्नुपर्ने बताएका छन् । एक टेलिभिजनलाई दिएको एक अन्तरवार्तामा राष्ट्रपति म्याक्रोनले शनिबारदेखि ९ शहरमा कर्फ्यू लगाउन लागेको र त्यो कम्तीमा चार सातासम्म हुने बताएका छन् ।
फ्रान्सले देशमा स्वास्थ्य आपतकालसमेत लागु गरेको छ । बुधबारमात्र फ्रान्समा २२ हजार ९ सय ५१ जना नयाँ संक्रमित फेला परेका छन् । कोरोनाको दोश्रो लहरसँग जुध्न अहिले युरोपका कयौं सरकारले नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् । नेदरल्याण्डस्ले स्थानीय समय अनुसार रातको १० बजेदेखि आशिंक लकडाउन लागु गरेको छ ।
यसअघि बुधबार स्पेनको उत्तरपूर्वि क्षेत्र क्याटोलिनाले बिहीबारदेखि बार र रेष्टुरेन्ट १५ दिनका लागि बन्द हुने घोषणा गरेको थियो ।
यस्तै चेक रिपब्लिकले स्कूल र बार बन्द गरेको छ। पछिल्लो दुई सातादेखि युरोपमा धेरै संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन्।
चेक रिपब्लिकको प्रति एक लाख जनसंख्यामा बितेको दुई सातादेखि करिब ५ सय ८२ जनामा संक्रमण पुष्टि भइरहेको छ । युरोपभर संक्रमितहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ । रूसमा बुधबार १४ हजार ३ सय २१ नयाँ संक्रमित थपिएका छन् भने २ सय ३९ जनाले ज्यान गुमाएका छन् ।
कोरोना रोकथामका लागि फ्रान्सले नयाँ कदमहरू उठाइरहेको छ । राष्ट्रपति म्याक्रोन मार्च अप्रिलमा पहिलोपटक फैलिएको कोरोनाको तुलनामा अहिले फैलिरहेको कोरोनाको नयाँ एकदमै नयाँ भएको बताए ।
म्याक्रोनले राजधानी पेरिससहित ९ शहरमा हाल ४ साताका लागि घोषणा गरिएको कर्फ्यूलाई सरकारले ६ सातासम्मका लागि लम्ब्याउन कोशिस गर्ने बताए । कर्फ्यूपछि मानिसहरू राति अबेर रेष्टुरेन्ट तथा अन्य मानिसका निजी निवासमा जान पाउने छैनन् । यो समयमा घरबाहिर निस्कन मानिसहरूसँग अत्यावश्यक कारण हुनुपर्नेछ। दैनिक जीवनमा महत्वपूर्ण हुने कुरामा भने कुनै पनि प्रकारको प्रतिबन्ध लगाइएको छैन् ।
यस्तै स्कूलहरू खुला रहनेछन् भने दिनको समयमा मानिसहरूलाई एक शहरबाट अर्को शहरमा जान कुनै प्रतिबन्ध हुनेछैन ।
म्याक्रोनले भने, 'हामीले कारवाही गर्नुपर्यो। भाइरसको फैलावटमा ब्रेक लगाउने आवश्यक्ता हामीलाई छ।' उनले कर्फ्यूमा रहनु मानिसहरूका लागि कठिन भएको आफूले बुझेको बताए ।