ट्रम्प : अमेरिका भन्दा भारतमा कोरोनाको ठूलो समस्या
(वासिङटन) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि आफूहरुले ‘धेरै राम्रो काम’ गरिरहेको दावी गरेका छन् । तर भारतले ठूलो समस्याको सामना गरिरहेको उनको आरोप ट्रम्पले लगाए ।
ट्रम्पले कोरोना नियन्त्रणको सवालमा अमेरिकालाई अन्य ठूला देशको अवस्थासँग तुलना गरेका छन् । भरतमा कोभिड १९ बाट १८ लाख ५५ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् । एकै दिनमा ५२ हजार भन्दा धेरैलाई संक्रमण पुष्टि भएको छ ।
ट्रम्पले भारतको यही अवस्थालाई देखाउँदै अमेरिकाले महामारी नियन्त्रणमा धेरै राम्रो काम गरिरहेको बताएका हुन् । ‘मलाई लाग्छ, हामीले धेरै राम्रो काम गरिरहेका छौँ । मलाई लाग्छ कि, हामीले अन्य कुनै पनि देश भन्दा राम्रो काम गरेका छौँ । यदी तपाईँले साँच्चिकै राम्रोसँग हेर्नुभयो भने, के भइरहेको छ देख्नुहुन्छ,’ ट्रम्पले भनेका छन् ।
सोमबार पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भनेका छन्, ‘नबिर्सिनु, हामीले भारत र चीन भन्दा धेरै राम्रो काम गरेका छौँ । चीन अहिले भड्किएको छ । भारतसँग अथाह समस्या छ । अरु देशहरुसँग त्यस्तै समस्या छ ।’ ट्रम्पले अमेरिकामा धेरैको परीक्षण भएकाले धेरै संक्रमित देखिएको तर अन्य देशमा ठूला समस्या भएको जिकिर गरेका छन् । अमेरिकामा हालसम्म कोभिड १९ का कारण १ लाख ५५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । ४० लाख भन्दा धेरै संक्रमित भएका छन् ।
जोन हकिङस विश्वविद्यालयको रिपोर्ट अनुसार हालसम्म कोरोनाभाइरस महामारीको सबैभन्दा धेरै असर अमेरिकामा परेको छ । मृत्यु र संक्रमणका हिसावले पनि अमेरिकामा ठूलो क्षति भएको छ ।