भक्तपुर र काठमाडौंमा भएका दुर्घटनामा ३ घाइते
(भक्तपुर) भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे पुल नजिकै गएराति स्कुटर पल्टिँदा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक भक्तपुरको लोकन्थली बस्ने १९ वर्षीय सिरेश श्रेष्ठ र पछाडि सवार काठमाडौंको शान्तिनगर बस्ने १८ वर्षीय विमोचन खनाल छन् । घाइते भएका श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा र खनालको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार भैरहेको छ । गएराति करिब सवा ११ बजे, प्रदेश ३, ०२-००४ प ७६६४ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।
यस्तै, काठमाडौको तारकेश्वर नगरपालिका ६ जितपुर फेदीमा पनि गएराति साढे १२ बजे, ठेलागाढामा प्रदेश ३, ०२-००३ प २२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । काठमाडौंको जरंखु बस्ने नुवाकोटका २५ वर्षीय मनोहर अधिकारी घाइते भएका हुन् । उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।