धनुषा बम बिष्फोटका योजनाकार मानिएका विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ
(जनकपुर) धनुषाको महेन्द्रनगरमा बम बिष्फोटको करिब ३ सातापछि घटनाको योजनाकारको आरोपमा विप्लव नेतृत्वका एक जना नेता पक्राउ परेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित ३ जनाको मृत्यु भएको थियो ।
घटनापछि मुख्य योजनाकार मानिएका नेकपाका नेता आदम राइनलाई प्रहरीले उनलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो ।महेन्द्रनगरमा सो बम विष्फोटनका घटना भए लगत्तै फरार रहेका आदम राइनलाई धनुषा प्रहरीले घटना घटेको करिब २२ दिनपछि पक्राउ गर्न सफल भएको छ ।
अभियुक्त राइन विप्लव नेतृत्व नेकपाको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले बताए ।
राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको स्रोतले जनाएको छ । गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् । तर अभियुक्त आदम पक्राउ बारे केहि बोलेन चाहेनन् ।
राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि स्रोत अनुसार अभियुक्त आदमलाई पक्राउ गर्न सफल भएको स्रोतको दाबी छ । प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पुस १६ गते नै राति पक्राउ गरेको बुझिएको छ ।
बम विष्फोटमा परेर घरमुलि राजेश साह र आनन्द साह र प्रहरी निरीक्षक दाहाल समेतको ज्यान गएको थियो भने २ जना घाइतेको उपचार भएका थिए ।