१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ
(काठमाडौं) बर्दियाबाट १० हजार रुपैयाँ घुससहित सहायक वनअधिकृत आनन्द प्रसाद साह पक्राउ परेका छन् ।
काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग उक्त रकम घुसलिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत साह पक्राउ परेका हुन् । काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको पाण्डेले बताए ।
इन्जिनियर पनि पक्राउ
अख्तियारले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतलाई पनि पक्राउ गरेको छ ।
झापा जिल्लामा सडक ग्राबेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस लिएको भन्दै आयोगले बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
भुक्तानीको बिल बनाइदिए वापतको घुस रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको भन्ने उजुरीको आधारमा बस्नेतलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।