ऐतिहासिक भित्तेचित्र र ताम्रपत्र जयवागेश्वरी मन्दिरमा भेटियो
(काठमाडौं) झण्डै १३ सय वर्ष पुरानो मानिएको जयवागेश्वरी मन्दिरमा ऐतिहासिक भित्तेचित्र र ताम्रपत्र भेटिएको छ ।
२०७२ वैशाखको विनाशकारी भूकम्पको कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा सुरु भएको थियो । त्यसक्रममा मन्दिरको पूर्व र पश्चिमपट्टीको भित्री भित्तामा भित्तेचित्र भेटिएको छ ।
पुरातत्व विभागकाअनुसार भित्तेचित्रमा गणेश भैरव कुमारी, वैष्णवी, शिव-पार्वती आदिको चित्र एकै ठाउँमा छ । मुसाले कोतरेका कारण चित्रको केही भाग स्पष्ट छैन । त्यस्ता भगवानहरु पहिचान गर्नका लागि तल देखिने बाहन र भगवानको शरीरका विभिन्न अंगलाई आधार बनाइएको पुरातत्वका अधिकारीहरुले बताएका छन् । विभागले खण्डित चित्रको मुनी रहेको मुसाको तस्वीरको आधारमा त्यो चित्र गणेशको हो भन्ने यकिन गरेको बताएको छ ।
त्यसैगरी तुलनात्मक रुपमा अरु भगवानको पनि पहिचान गरिएको विभागले जनाएको छ ।