सन् २०२२ पछि त्रिभुवन विमानस्थलले यात्रु नथेग्ने, निजगढ नबने आपत्
(काठमाडौं) नेपालमा अहिले हवाई यात्रुको वार्षिक वृद्धिदर औसत ९.३ प्रतिशत रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो १० वर्षमा भएको यात्रुको संख्या विश्लेषण गर्दा उक्त वृद्धिदर देखिएको हो । यसरी वर्षेनी यात्रु बढिरहँदा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चाप थपिँदै गएको छ ।
प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार त्रिभुवन विमानस्थलको अधिकतम क्षमता वार्षिक ९२ लाख यात्रुको हो । ९ प्रतिशतका दरले यात्रुको संख्या बढ्दा हरेक वर्ष ७ लाखभन्दा बढी यात्रु थपिन्छन् । यही दरले यात्रु संख्या बढ्दा सन् २०२२ पछि त्रिभुवन विमानस्थलले थेग्न सक्ने अवस्था रहँदैन ।
एसिया प्यासिफिक क्षेत्रमा पनि करिब ८ प्रतिशतले वार्षिक हवाई यात्रु बढिरहेका छन् । साथै नेपालले हरेक वर्ष पर्यटक संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य पनि लिएको छ । तर, त्रिभुवन विमानस्थलको स्तरवृद्धि भएको छैन । न त विकल्पमा कुनै अन्तर्राष्ट्रिय विमानस्थल नै काठमाडौंमा निर्माणाधिन छ ।
सरकारले पर्यटक वृद्धिका लागि लिएको लक्ष्यअनुसार पनि सन् २०२२ सम्म त्रिभुवन विमानस्थलले हवाई यात्रुको चाप थेन्न नसक्ने प्राधिकरणको अध्ययनले देखाएको हो । ‘सन् २०२२ पछि अहिलेकै वृद्धिदरमा यात्रु बढ्दा त्रिभुवन विमानस्थलले काठमाडौंको हवाई यात्रुको चाप थेग्दैन, विकल्प आजै खोजिनुपर्छ,’ उनले भने । नेपालीहरुको आयस्रोतमा भएको वृद्धि, उच्च आर्थिक विकास गरिरहेका चीन र भारतको बीचको अवस्थिति, भुपरिवेष्ठित मुलुकलगायत कारणले पनि नेपालमा हवाई यात्रुको चाप निरन्तर बढ्ने देखिएको छ । तर, यो चाप थेग्नेगरी अर्को विकल्प खडा नहुँदा त्यसपछि झन् भयाभह अवस्था आउन सक्ने चिन्ता प्राधिकरण र हवाई विज्ञहरुको रहेको छ ।
काठमाडौंमा एउटा मात्र धावनमार्ग रहेको छ । चारैतर्फ डाँडाकाडाले घेरेका कारण उपत्यकामा जुनसुकै रुटबाट पनि हवाईजहाज काठमाडौंमा छिर्न सक्दैनन् । एकपटकमा एउटा मात्र हवाईरुटबाट जहाज छिर्न सक्छ ।
सोहीकारण आकासमा जहाजको लाइन भइरहन्छ । काठमाडौंमा थप पूर्वाधार बिस्तार गर्न जग्गा छैन । न वस्ती उठाएर विमानस्थल बिस्तार गर्न नै सम्भव छ । त्यसकारण भएकै पूर्वाधारमा थपथाप गर्नुबाहेक काठमाडौंले थप यात्रु र हवाईजहाजको व्यवस्थापन गर्ने गरी पूर्वाधारमा लगानी गर्न सक्ने अवस्था नरहेको अधिकारीहरु बताउँछन् ।
तत्कालिन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठ काठमाडौंमा थप लगानी गर्नुको साटो अब विकल्प तयार पार्न सरकारलाई सुझाव दिन्छन् ।
प्राधिकरणका अनुसार नेपालमा हवाई यात्रुको प्राथमिकता अझै पनि राजधानी केन्दि्रत नै छ । संघीयता लागू भएपनि धेरै निकाय काठमाडौंमै थुपि्रएका छन् । ७७ वटै जिल्लाका मानिस काठमाडौंमा बस्छन् । विदेश जानु पर्दा उनीहरु काठमाडौं आउनैपर्छ ।
त्यसकारण नियमित हवाई यात्रा गर्नेका लागि भैरहवा र पोखराले तत्काल विकल्प दिन नसक्ने पर्यटन व्यवसायी बताउँछन् । पहिलो चरणको काम सकिँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक हवाई क्षमता अधिकतम १५ लाख पुग्छ ।
पोखरा विमानस्थलले वार्षिक अधिकतम १० लाख यात्रु थेग्न सक्छ । यी दुई विमानस्थल पर्यटकीय क्षेत्रमा रहेका छन् । दुवै विमानस्थलले काठमाडौं आउने यात्रुभन्दा पनि नयाँ हवाई यात्रु आकषिर्त गर्ने सम्भावना रहेका कारण पोखरा र भैरहवा काठमाडौंको विकल्प बन्न नसक्ने प्राधिकरणको निष्कर्ष रहेको छ ।
अर्कोतर्फ सडक यात्राको दूरीका हिसावबाट पनि पोखरा र भैरहवा काठमाडौं विमानस्थलको विकल्प होइनन् । किनकी भैरहवाबाट अहिलेकै संरचनामा कम्तिमा ८ घण्टा र पोखराबाट कम्तिमा ६ घण्टाको सडक यात्रापछि मात्र राजधानी आउन सकिन्छ । सोहीकारण यी दुई विमानस्थलले काठमाडौं विमानस्थलको विकल्प दिन नसक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।