बझाङको साइपाल गाउँपालिकामा अत्यधिक चिसोका कारण स्वास्थ्य सेवा प्रभावित
बझाङ बझाङको साइपाल गाउँपालिकामा अत्यधिक चिसोका कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ । विद्युत्, खानेपानी, स्वास्थ्यकर्मीदेखि औषधि र उपकरण अभाव भइरहने यहाँका स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवा चिसोका कारण प्रभावित बनेको हो । हिमपात भएपछि विशेष गरी सुत्केरी गराउन समस्या भएको धलौन सामुदायिक स्वास्थ्य चौकीका अहेव रकेट बोहराले बताए । बर्थिङ सेन्टरसहितको आधारभूत स्वास्थ्य चौकीमा विद्युत सेवा उपलब्ध नहुँदा आगो बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको अनमी ज्योति विकको भनाइ छ । वर्षा र हिमपातले घाम नपर्दा सौर्य ऊर्जा अभाव भएको छ । जसका कारण अँध्यारोमा टर्च वा आगो बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।
साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले पनि स्वास्थ्य चौकीमा हिउँ अझै जमिरहेकाले औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिले समस्या परेको बताए ।
एक महिनाअघि जयपृथ्वी नगरपालिका–१ कैलाशमा मृत भेटिएका १६ वर्षीय मञ्जन विकको घटनामा प्रहरीले लापरबाही गरेको मृतकका आफन्तले आरोप लगाएका छन् । मृतक विकको हत्या भएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । परिवारले आरोप लगाएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छाडेको भन्दै परिवारले अनुसन्धान विस्तृत बनाउन अनुरोध गरेका छन् । विकको शव गत कात्तिकमा घरबाट बेपत्ता भएको १५ दिनपछि कैलाशकै कुलाडाँडा भन्ने स्थानमा झाडीभित्र कपडा र अस्थिपञ्जर फेला परेको थियो ।
उक्त बेवारिसे शव मञ्जनको भएको एकिन भएपछि स्थानीय सन्तोस सिंह र रामदेवी सिंहलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर नियन्त्रणमा लिएको केही समयपछि प्रहरीले साधारण सोधपुछ गरेर छोडेको र अनुसन्धानमा लागिरहेको भन्दै प्रहरीले एक महिनासम्म झुलाएको आफन्तको आरोप छ ।