‘प्रहरी’ बनेर यसरी लुटियो २ किलो सुन, नेपाल प्रहरीकै सेवानिवृत्त असई पनि संलग्न लुटिएको सुन ‘तस्करी’ को भएपछि पीडित नै फरार
मंसिर २१ गते साँझ महानगरीय प्रहरी वृत्त कालिमाटीमा ३ जना युवाहरु लुटपाटको उजुरी दिन आइपुगे । साँझ करिब सवा ५ बजेतिर वृत्त आइपुगेका उनीहरुले एउटा सानो निवेदन लिएर आए । निवेदनमा मंसिर १९ गते साँझ कलंकीबाट २ लाख नगद र १ तोलाको सुनको सिक्री लुटिएको कुरा उल्लेख गरे ।
पहिले उनीहरुले निवेदन पनि ढाँचामा लेखेर ल्याएका थिएनन् । पहिलो निवेदन फिर्ता पठाइसकेपछि उनीहरुले पुनः अर्को निवेदन लिएर आए । निवेदनमा उनीहरुले सोही कुरा दोहोराए – मंसिर १९ गते कलङ्कीबाट २ लाख नगद र १ तोलाको सुनको सिक्री लुटियो ।
निवेदनमा उल्लेख भएको कुरा अझै रोचकको थियो । ‘मङ्सिर १९ गते साँझ करिब ६ बजेको समयमा ३ जनाको समूहमा आएका युवाहरुले कलङ्की चोकबाट मलाई अपहरहण गरी मेरो साथमा रहेको २ लाख नगद र एक तोलाको सुनको सिक्री लुटेर लगे । उक्त रकम र सुनको सिक्री लुटिएपछि मेरो परिवारमा तनाव भयो । श्रीमतीले त्यो पैसा र सिक्री खोइ ? तैँले कसलाई दिइस् ? मोजमस्तीमा सकाइस् भन्दै गाली गर्न थालेको र मेरो पारिवारिक विखण्डन हुने खतरा आइपरेकाले कलङ्की चोकदेखि सोल्टीमोडसम्मको सिसिटिभी फुटेज हेरी पाउँ र लुटेरालाई कारवाही गरी पाउँ ।’
पीडित भनिएका व्यक्तिले आफ्नो सम्पत्तिको खोजबिनका लागि भन्दा पनि परिवारका सदस्यलाई ‘कन्भिन्स’ गर्नका लागि सिसिटिभी फुटेज माग गरेको कारण घटना प्रहरीलाई शंकास्पद लाग्यो । पीडित भनिएको व्यक्तिले सायद कतै मोजमस्तीमा रकम सकेर परिवारलाई झुक्याउनकै लागि लुटिएको भनेको हुनसक्ने अनुमान गर्यो । यद्यपि प्रहरीले आफ्नो अनुसन्धान भने जारी नै राख्यो ।
मङ्सिर २१ गते निवेदन परेलगत्तै मंसिर २२ गते महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले पीडित भन्दै निवेदन दिने राजेश बिष्टलाई फोन गरी घटनाबारे थप बताउन र प्रहरी कार्यालय बोलाउन आफ्ना प्रहरी अधिकृतलाई निर्देशन दिए ।
तर प्रहरीसँग ‘हुन्छ’ भनेका बिष्ट न प्रहरी कार्यालय आए न त उनले थप खोजबिन नै गरे । त्यसपछि निवेदन नै नक्कली भएको अनुमान गर्दै प्रहरीले आफ्नो समय धेरै खर्च नगर्ने निर्णय ग-यो ।
काठमाडौँमा दक्षिण एसियाली खेलकुद भइरहेको कारण महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी पनि रंगशालाको सुरक्षा र व्यवस्थापनमा ब्यस्त थिए । जब मङ्सिर २४ गते खेलकुद सकियो, त्यसै दिन बेलुका वृत्तका डिएसपी कुँवरलाई एउटा फोन आयो । फोन गर्ने व्यक्तिले वृत्तमा २ लाख नगद र सुनको सिक्री लुटिएकोबारे निवेदन परेकोबारे स्मरण गराउँदै खासमा लुटिएको २ लाख नगद र सुनको सिक्री नभएर २ किलो सुन भएको सुराक दिए ।
त्यसपछि भने कालीमाटी प्रहरीले घटनालाई रहस्यमय भन्दै खोजबिन सुरु ग-यो । पीडित भनिएका व्यक्तिलाई पुनः सम्पर्क गरी प्रहरी कार्यालय आउन भनियो । फोनमा ‘हुन्छ’ भनेपनि पीडित प्रहरी कार्यालय भने आएनन् । बरु उनले घटनामा संलग्न रहेका भनिएका व्यक्तिहरुको हुलिया, त्यसदिन लगाएको कपडा लगायतका बारेमा प्रहरीलाई फोनबाटै जानकारी दियो ।
त्यसपछि मंसिर २५ गते महानगरीय प्रहरी वृत्त कालाीमाटीले घटना भएको भनिएको दिन मंसिर १९ गतेको कलङ्कीको सिसिटिभी फुटेज उपलब्ध गराइपाउँ भनी महानगरीय आयुक्त कार्यालय, रानीपोखरीमा निवेदन दियो ।