प्रदेश २ मा सत्ता समीकरण फेरबदलको चर्चा, दाऊमा ‘उपसभामुख’
(काठमाडौँ) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी, नेपालबीच भएको दुई बुँदे सम्झौताले राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ । लामो समयदेखि टाढिएर बसेका दुई दलले राष्ट्रियसभा चुनावमा तालमेल गर्न दुई बुँदे सहमति गरेपछि संघदेखि प्रदेशसम्मको सत्ता समीकरण फेरबदलसम्मको चर्चा शुरु भएको छ । सहमतिपछि प्रदेश नम्बर २ को सत्ता समीकरण नै बदलिन आँकलन गरिएको छ । किनभने हाल समाजवादी पार्टी र राजपा नेपालको संयुक्त सरकार रहेको प्रदेश २ मा गणितीयरुपमा राजपा र नेकपा मिल्दा समाजवादी नेतृत्वको सरकार ढल्न सक्छ ।
उता, राजपाले अख्तियार गरेको पछिल्लो कदमपछि समाजवादी पार्टीले पनि नेकपा मिलेर प्रदेश २ मा सरकार बनाउने कसरत शुरु गरेको । राजपा नेकपासँग मिलेर सरकार परिवर्तन गर्ने खेलमा लागेको खण्डमा समाजवादी पार्टीले पनि त्यस्तै खेल खेलेर नेकपासँग पनि अर्को सरकार बनाउन सक्ने विश्लेषकहरुको बुझाइ छ ।
र, यसको प्रयास पनि भित्रभित्रै भइरहेको स्वयम् समाजवादी पार्टीका नेता बताउँछन् । समाजवादी पार्टीका एक नेताले रातोपाटीसँग भने, ‘यदि राजपाले नेकपालाई प्रदेश २ को नेतृत्व दिनसक्छ भने समाजवादीले किन सक्दैन ? समाजवादीले नेकपालाई मुख्यमन्त्री दिएर आफ्नो सरकार बचाउन पनि सक्छ । राजपाले आफूलाई मात्र खेलाडी हुँ भनेर नसम्झोस् ।’ यद्यपि, तराई मधेशका जनताले प्रदेश २ को सरकार चलाउने म्याण्डेट समाजवादी पार्टी र राजपालाई मात्र दिएको उनको तर्क छ ।
प्रदेश २ को सरकार परिवर्तनमा पनि नेकपामा दुईवटा धार हावी छ । नेकपाका अध्यक्ष प्रचण्ड समाजवादी पार्टीको पक्षमा छन् भने अर्का अध्यक्ष केपी शर्मा ओली राजपा नेपालको पक्षमा छन् । अध्यक्ष ओलीले नरुचाइरहेका उपेन्द्र यादव प्रचण्डका प्रिय पात्र हुन् । यही कारणले प्रदेश २ को सत्ता समीकरण कतातिर ढल्किन्छ भन्नेमा अझै अन्यौल नै रहेको छ ।