वनभोज हिंडेको मदन भण्डारी कलेजको बस दुर्घटना, २२ जना घाइते
(काठमाडौं) काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटना भएको भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले अनलाइनखबरलाई जानकारी दिए ।
ब्रेक नलाग्दा अनियन्त्रित भएर एक तर्फको चक्का ढिस्कोमा चढ्न पुग्दा बस बीच सडकमै पल्टिन पुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
२२ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको उनले बताए । २० जनाको डाक्टर इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । दुर्घटनामा परेको उक्त बसमा ४६ जना सवार थिए ।
प्रधानका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु वनभोजका लागि भक्तपुर जाँदै थिए ।