एक वर्षमा ६ ठूला आन्तरिक विमानस्थलको धावनमार्ग मर्मत
(काठमाडौं) नेपाल नागरिक उड्डयन प्राधिकरणले तराई भेगका अधिकांश ठूला विमानस्थलको धावनमार्ग मर्मतको काम पूरा गरेको छ । एक वर्षको अवधिमा आधा दर्जन आन्तरिक विमानस्थलमा धावनमार्गको मर्मत कार्य सकिएको हो ।
धावनमार्गको माथिल्लो तहमा देखिने खाल्डाखुल्डीले हवाई उडान र अवरणमा समस्या हुने गर्छ । सोही कारण धावनमार्गलाई निश्चित समयमा ‘ओभरले’ गरिरहनु पर्छ । सामान्यतया हरेक १० वर्षमा धावनमार्गको पिचलाई मर्मत गरिसक्ने हुन्छ भने लामो समय ओभरले गरिसकेपछि पीच नै उप्काएर नयाँ राख्नुपर्छ ।
धावनमार्ग मर्मतका लागि १ डिसेम्बरबाट बन्द भएको चितवनको भरतपुर विमानस्थल १० डिसेम्बरबाट सञ्चालनमा आएको छ । त्यसको एक महिना अगाडि झापाको चन्द्रगढी विमानस्थलमा १० दिन उडान बन्द गरी ओभरलेको काम भएको थियो । यस वर्ष यी दुई विमानस्थलभन्दा अगाडि जनकपुर, धनगढी, विराटनगर र जोमसोम विमानस्थलको धावनमार्ग मर्मतको काम सकिएको छ ।
यी विमानस्थलहरूको मर्मतको काम तोकिएको समयमै सम्पन्न भएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।
यसै वर्ष प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समेत पिच परिवर्तन गरेको छ । गत चैतबाट काम थालेको प्राधिकरणले असारसम्म यसको काम पूरा गरेको थियो । अहिले भने त्रिभुवन विमानस्थलमा ट्याक्सी वे फेर्ने काम पनि सकिएको छ ।