सुदूरपश्चिमका भैंसीको मासु चीन र भियतनामसम्म
(डोटी) सुदूरपश्चिमको पहाडबाट भैंसी निकासी हुनथालेको डेढ दशक नाघ्यो। सुरुका वर्षमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्करभैंसी तस्करी गर्थे।यसरी निकासी हुने भैंसीका लस्कर अझै रोकिएका छैनन्। बरु त्यसलाई अहिले वैधानिक बाटोमा डो-याउने कोसिस गरिएको सरोकारवाला बताउँछन्।
‘अहिले उनीहरुले वैधानिक कारोबार गरिरहेका छन्,’ सुदूरपश्चिम प्रदेश, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. मदनसिंह धामी भन्छन्,‘हाल यस प्रदेशमा नौ सय ६१ जनाले व्यावसायिक रुपमा दर्ता भएर भैंसी मासुको कारोबार गरिरहेका छन्।’
‘नेपाली बजारमै भैंसीमासुको माग धेरै छ,’ कारोबारमा संलग्न कैलाली, अत्तरियाका व्यवसायी बालकृष्ण भट्टराईले भने,‘यसैले हामीलाई माग अनुसारको आपूर्ति गर्नै कठिन छ।’ नेपालकै माग नधानेका बेला यहाँका भैंसीको मासु चीन र भियतनामसम्म पुग्ने गरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका डा. धामीले बताए। उनले भने,‘चिनियाँ नागरिकले नेपालमै प्रशोधन केन्द्र खोलेर नेपाली भैंसीको मासु चीनपठाइरहेका छन्। जो भियतनामसम्म पुग्छ।’
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीका भैंसी निकासी भएका छन्। जसमा करिब १२ हजारभन्दा बढी संख्यामा भैंसी निर्यात भएको तथ्यांक छ। ‘मासिक एक हजारको हाराहारीमा यहाँका भैंसीको मासु निकासी भइरहेको तथ्यांक छ,’ निर्देशक डा. धामीले भने।
अन्तर्राष्ट्रिय बजारबाट तीव्र माग भएको भैंसी मासु उत्पादनलाई व्यावसायिक बनाउन सके मनग्य आम्दानी गर्नसकिने यस व्यवसायमा लागेकाकारोबारी बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमा मासुजन्य उत्पादनमा बढी माग भनेकै भैंसीको छ,’ कारोबारी भट्टराई भन्छन्,‘तरहामीकहाँ भैंसीदूधकै लागि मात्र पाल्ने चलन छ। यसलाई मासुका लागि पनि भनेर उत्पादन गरे राम्रो आम्दानी गर्नसकिन्छ।’
सोही कुरा स्वीकार्दै निर्देशक धामीले प्रदेश सरकारमा भैंसी उत्पादन प्रवद्र्धनका कार्यक्रम अघि सारिएको बताए। उनले भने,‘सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय माग भएको र मूल्य पनि पाइने उत्पादनमा हामीले बढावा दिने योजना सार्नुपर्छ। तब मात्र आर्थिक विकास सम्भव हुन्छ।’ चीनमा मात्रै अर्बौंको भैंसी मासु माग रहेको उनले बताए। ‘चीनजस्तो जनसंख्या बाक्लो भएको मुलुकले नेपालबाट जतिपनि भैंसी खपत गर्नसक्छ,’ उनले थपे।