स्वास्थ्यकर्मी अभावले रामेछापको स्वास्थ्य सेवा प्रभावित
(रामेछाप) दरवन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि रामेछापको स्वास्थ्य सेवा कमजोर बन्दै गएको छ ।
१ जिल्ला अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा दरबन्दीअनुसार ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । जिल्लामा ६८ जना स्वास्थ्यकर्मीहरु अपुग छन् ।
स्वास्थ्य कार्यालय रामेछापको तथ्यांक अनुसार जिल्लामा डाक्टर भने ६ जनाको दरबन्दी भए पनि करार सेवा लगायतमा १० जना डाक्टरहरु कार्यरत छन् । ५५ जना हेल्थ असिस्टेन्ट हुनुपर्नेमा हाल ३० जना मात्र कार्यरत छन् । २२ जनाको दरबन्दी रिक्त छ । यसैगरी १ सय १५ अहेव हुनुपर्नेमा हाल ८४ जना मात्र कार्यरत छन् । ३१ जना अहेव रिक्त छ । १ सय १६ अनमीहरु रहनु पर्नेमा अहिले ९९ जना मात्र कार्यरत छन् । १७ जनाको पद रिक्त छ ।
सहरी स्वास्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य सेवामा समेत आवश्यकताअनुसार कर्मचारी छैनन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावित भएको छ ।
स्वास्थ्य संस्थामा कम्तिमा ३९ थरि औषधिहरु वर्षैभरि उपलब्ध हुनु पर्नेमा स्वास्थ्य संस्थाहरुले ती औषधि समेत वर्षैभरि नियमित उपलब्ध गराउन सकेको छनन् । स्वास्थ्य संस्थामा कुनै न कुन औषधि सकिइरहने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
जिल्लामा सबैभन्दा धेरै हेल्थ असिस्टेन्टको अभाव देखिएको छ । डाक्टर पछिको दक्ष प्राविधिकको रुपमा रहेका हेल्थ असिस्टेन्टहरुको दरबन्दी सरदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा समेत खालि छ । मन्थली नगरपालिकामा ११ जना हेल्थ असिस्टेन्ट हुन पर्नेमा जम्मा ६ जना मात्र कार्यरत छन् । त्यस्तै खाँडादेवी गाउँपालिकामा ८ जनाको दरबन्दीमा ३ जना मात्र कार्यरत छन् । गोकुलगंगामा भने ६ जनामा ५ जना कार्यरत छन् ।
सबैभन्दा बढी स्वास्थ्यकर्मीको अभाव लिखु-तामाकोसी गाउँपालिकामा देखिएको छ । सो पालिकामा ६ जना हेल्थ असिस्टेन्टको दरबन्दीमा १ जना मात्र कार्यरत छन् । १४ जना अहेबमा ७ जना मात्र कार्यरत छन् भने १४ जना अनमी हुनु पर्नेमा ११ जना मात्र कार्यरत छन् ।