जापान लैजाने कामदार छनोटबारे सरकार गुमराहमा
(काठमाडौं) गत चैत ११ गते जापान र नेपालबीच कामदारका आपूर्तिका लागि सहकार्यको समझदारी भयो । त्यसपछि धेरैलाई लागेको थियो कि अब कोरियाजस्तै गरी भाषा परीक्षा पास गरेर जापान जान पाइनेछ ।
तर, अहिले जापानमा रोजगारीको सपना देख्नेहरु धेरैले आशा मारिसके । कारण, हो जापानको अप्ठेरो कामदार भर्ति प्रक्रिया ।
जापानले नेपालबाट कामदार लैजाने प्रक्रिया जसरी अघि बढाएको छ, त्यसबाट कामदार मात्रै हैन, नेपालको सरकार पनि सन्तुष्ट छैन । परीक्षा भएको मिति, स्थान, नतिजा, कामदार जाने कम्पनी, प्रस्थान गर्ने मिति र सेवा सुविधा लगायतका कुनै पनि पक्षबारे जापानले सरकारलाई औपचारिक जानकारी दिएको छैन ।
समझदारी अनुसार कामदार जापान पठाउने प्रक्रिया सरकारी स्तरबाटै अघि बढ्नुपर्छ । समझदारीले जापानमा कामदार पठाउन निजी क्षेत्रलाई रोकेको छ । अन्य देशसँग निजीस्तरका म्यानपावरबाटै कामदार आपूर्ति गरिरहेको जापानले नेपालमा आफूखुसी अघि बढाउँदा अन्योलहरु देखा परेका छन् । कहिले, कुन क्षेत्रमा, कस्ता जनशक्ति कसरी लगिन्छ भन्ने निश्चित नभएपछि हजारौं रकम खर्चिएर भाषा पढिरहेका कामदार पनि अन्योलमा परेका छन् ।
परीक्षाबारे नै बेखबर भएपछि भाषा परीक्षा ‘औपचारिकता’ मात्रै हो कि भन्ने आशंका सरकारी अधिकारीहरुलाई छ । जापानको नेपालस्थित दूतावासले सरकारले मागेका सूचना अनौपचारिक रुपमा दिइरहेको छ । तर यसमा श्रम र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आश्वस्त हुन सकिरहेको छैन । जापानले पहिलो चरणमा ‘नर्सिङ केयर गिभर’का लागि परीक्षा लिएको थियो । परीक्षा हुने मिति सार्वजनिक गरिए पनि प्रक्रियाका विषयमा सरकार अनभिज्ञ रह्यो । त्यति मात्रै हैन, परीक्षाका लागि कतिले फारम भरेका थिए र केका आधारमा भाषा परीक्षामा कतिलाई सहभागी गराइयो भन्ने विषयमा पनि जापानले सरकारलाई औपचारिक जानकारी दिएको छैन।
जापानी भाषा र सीपको परीक्षा दिन चिठ्ठा गर्नु, निजीस्तरमा चलाइएका संस्थालाई परीक्षा केन्द्र तोकिनु जस्ता कारणले पनि सरकारलाई सशंकित बनाएको छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना भाषा परीक्षामा ५६ जना परीक्षार्थी मात्र पास भएको जानकारी रहेको बताउँछन् । तर, भाषा परीक्षामा उत्र्तीणमध्ये कति जनाले सीप परीक्षणको चरण पार गरे भन्ने जानकारी अझै मन्त्रालयसम्म आएको छैन । भाषा परीक्षामा पास भएकाले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्छ ।
अहिले सीपको परीक्षामा एक जना पनि नेपाली परीक्षार्थी उत्र्तीण नभएका अपुष्ट खबर बाहिरएका छन् । ‘नतिजाबारे हामीलाई कुनै पनि जानकारी छैन, नतिजा आएको हो वा होइन भन्नै नै स्पष्ट छैन,’ ढुंगानाले भने, ‘जापान फाउन्डेसनको वेबसाइटमा पनि यसबारे कुनै जानकारी दिइएको छैन ।’
यो फाउन्डेसनले नै नेपालबाट कामदार आपूर्तिका परीक्षा लगायतका प्रक्रिया पुरा गर्ने जिम्मेवारी पाएको छ । फाउन्डेसनले वेबसाइटमा राख्ने विवरण र सूचनामै सरकार पनि भर परेर बस्ने अवस्था आएको छ ।