विप्लव समूहले राजेशको घरमा बम राखेको थियो
(जनकपुरधाम) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमका राजेश साहको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम राखेको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखिएको प्रहरीले बताएको छ ।
शुक्रबार राति साहको घरमा राखिएको बम बिष्फोट हुँदा उनीसँगै १५ वर्षिय छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो । राजेन र आनन्दाको घटनास्थलमै र दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा रातो रंगको झोला झुण्ड्याएको देखिन् । उनले यसबारे पतिलाई जानकारी गराए ।
राजेशले तत्कालै इलाका प्रहरी कार्यालय महेन्ऽनगरमा खबर गरे र प्रहरी निरीक्षक अमिर दाहाल नेतृत्वको टोली आयो । दाहालले ‘केही होइन’ भनेर झोला हटाउन खोज्दा विष्फोट भएको मृतक राजेशका पिता भिखारी साहले बताए ।
झोलामा प्रेसर कुकर देखेपनि दाहालले तर्साउन राखेको हुनसक्ने अनुमान गरेको प्रहरीले बताएको छ ।
मृतक राजेश औषधि व्यवसायी हुन् । उनी महेन्द्रनगरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए र उनले व्याजमा रकम समेत लगाउने गरेको बताइन्छ ।
प्रदेश २ का जिल्लाहरुमा पछिल्लो समय बम भेटिने तथा बिष्फोट हुने क्रम बढेको छ । खास गरेर सरकारी कार्यालयहरुलाई लक्षित गरेर बम राख्ने तथा बिष्फोट गराउन थालिएको छ । यसले सार्वसाधारणमा त्रास बढेको छ । शुक्रबार राति साहका घरमा बिष्फोट भएकै समयमा सिरहामा एक गाउँपालिकाको कार्यालयमा पनि बिष्फोट भयो ।
लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति ११ बजेतिर भएको बिष्फोटबाट कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको छ भने जस्तापाता उडेको छ ।
बम कसले पड्काएको हो भन्ने कुरा खुल्न सकेको छैन । बम विस्फोटबारे अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी अपिलराज बोहराले बताए ।
नगरपालिकामा पछिल्लो केहि दिन यता हरहिसाब सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ । २३ मंसिरमा महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित डिभिजन वन कार्यालयको प्राङ्गणमा पार्किङ गरी राखिएको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम भेटिएको थियो । बमलाई नेपाली सेनाको बम टोलीले निष्कृय गरेको थियो ।
यसअघि १३ मंसिरमा सिरहाको धनगढीमाई नगरपालिका १० मा पनि प्रेसर कुकर बम फेला परेको थियो । प्लाष्टिकको झोलामा राखिएको बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो । १२ मंसिरमा महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी -नेकपाका नेता विक्रम चौधरीको घरमा बिष्फोट हुँदा सामान्य क्षति भएको थियो ।
२६ कात्तिकमा इशनाथ नगरपालिका ४ स्थित मठिया प्रहरी चौकीमा बिष्फोट भयो, प्रहरी जवान रंजित कुमार घाइते भए । यस्तै २७ असोजमा कर्जन्हा नगरपालिका ३ स्थित कमला नदीको छेउमा सकेट बम फेला परेको थियो ।