आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाए
(काठमाडौं) रौतहटको फरहदवामा १२ वर्ष अगाडि भएको बम विष्फोटका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आफूलाई मोहम्मद अफताव आलमका व्यक्तिले दबाब दिएर बयान फेर्न लगाएको बताएका छन् ।
आलमका व्यक्तिहरुले आफूलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताएका छन् । त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् । गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ ।
२०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा कांग्रेस नेता मोहमद अफताव आलम पक्राउ परेका छन् । उनीविरुद्धको मुद्दा हाल जिल्ला अदालत रौतहटमा चलिरहेको छ ।
भारत सीतामढीका गौरीशंकर चमारलाई सोही घटनाको साक्षी भनेर प्रहरीले प्रस्तुत गरेको छ । तर, सोमबार उनको हस्ताक्षरयुक्त कागजमा बम विष्फोटको घटनाबारे थाहा नभएको उल्लेख गरिएपछि तरंग सिर्जना भएको थियो ।
यद्यपि अनलाइनखबरसँग कुराकानी गर्दै गौरीशंकरले चार दिन अगाडि आफू घरमै बसिरहेको बेला केही मानिसहरुले जीपमा राखेर आलमका सम्धीको घरमा बन्धक बनाएर राखेको बताएका छन् । काम छ भनी अपहरण गरी आलमका सम्धीको घरमा बन्धक बनाइ राखेको र डर धम्की दिँदै एक कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।
उनीहरुले अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर घाइते भएको वयान दिनू भनेर सिकाएको र सोमबार दिउँसो मोटरसाइकलमा राखेर आफूलाई जिल्ला अदालत नजिक ल्याएर छाडिएको गौरीशंकरको भनाइ छ ।