हाम्रो नक्सामा लिम्पियाधुरा नहुनु विडम्बनापूर्ण कुरा हो’
(काठमाडौं) सीमाविद् एवं भूगोलविद् बुद्धिनारायण श्रेष्ठका नापी, सिमाना र सिमाना व्यवस्थापन सम्बन्धी एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् । ‘नेपालको सिमाना’ पुस्तकका लागि २०५७ सालमा मदन पुरस्कार प्राप्त गरेका श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक हुन् ।
नक्सासम्बन्धी अध्ययनका लागि हाल अमेरिका पुगेका श्रेष्ठ भारतले सार्वजनिक गरेको राजनीतिक नक्साले नेपालको अतिक्रमित भूभागलाई ‘वैधता’ दिन खोजेको बताउँछन् । नेपालको ३७२ वर्गकिलोमिटर भूभाग आफ्नो पार्ने भारतीय प्रयासविरुद्ध नेपालले सकेसम्म सौहार्दपूर्ण वार्ताबाटै समाधान खोज्नुपर्ने र त्यसो हुन नसके नेपालले अन्तराष्ट्रिय अदालत गुहार्नुपर्ने उनको सुझाव छ ।