नारायणकाजी : भारतले मिचेको भूमि फिर्ता गराउन सरकार सक्रिय
(भक्तपुर) नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने बताएका छन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् ।
ढकाललाई जिताउन अपिल गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरे । पूर्वउपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिरसमेत गरे ।
चुनावी कार्यक्रममा नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् महेश बस्नेत, सांसद् रामेश्वर फुयाल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतलगायतको सहभागिता थियोे ।