नेकपा निर्णयको अन्तर्यः सरकार र नेकपाको ‘अस्थिरता’ अन्त्य राष्ट्रपतिको पहलमा दुई अध्यक्षबीच नयाँ समझदारी
(काठमाडौं) पार्टी एकताका बाबजुद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा द्धिविधा थियो, ‘प्रधानमन्त्रीमा आलोपालो हुन्छ कि हुन्न ? दुई अध्यक्षको कार्यविभाजन के होला ?’
यही कारण ०७४ को आम चुनावमा जनताले बाम गठबन्धनलाई प्रष्ट बहुमत दिएपनि सरकार र नेकपा दुबैमा अस्थिरता थियो । यो बीचमा दुई अध्यक्षबीच धेरै वार्ता भए, थोरै विश्वास । त्यही कारण बहुमतको सरकार प्रभावकारी नभएको मात्र होइन, तीन महिनामा गर्ने भनिएको पार्टी अझै टुंगिएको छैन । तर बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ सहमति गर्दै सबैलाई सरप्राइज दिएका छन् । मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गर्न भनेर बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री पाँचै वर्ष केपी ओली हुने र पार्टी कामको कार्यकारी भूमिका प्रचण्डलाई दिने निर्णय गराए ।
अध्यक्षद्वयको कार्य विभाजनबारे नेकपाले गरेको निर्णयलाई आफ्नो अनुकुल ब्याख्या गर्न सकिन्छ । कतिपयले आधा कार्यकाल प्रधानमन्त्री छाड्नुपर्ने सम्झौताबाट मुक्त भएको र पहिलो बरियताको अध्यक्ष कायमै रहेकाले केपी ओली सुरक्षित बनेको ब्याख्या गरेका छन् । अर्कोतर्फ पार्टीको कार्यकारी अध्यक्ष बन्ने लामो कसरत सफल भएकाले नेकपामा प्रचण्डले आफ्नो स्पेस बलियो बनाएको विश्लेषण भइरहेको छ ।
तर त्योभन्दा मुख्य कुरा यो सहमतिले सरकार र नेकपाको ‘अस्थिरता’ अन्त्य भएको छ । ‘पार्टी एकता गरेपछि अध्यक्षद्धयको कार्यविभाजन के हुने ? प्रधानमन्त्री केपी ओलीले हस्तान्तरण गर्ने कि नगर्ने भन्ने द्धिविधा थियो’ नेकपाका एक नेता भन्छन्, ‘यो सहमतिले त्यो द्धिविधा हटाएको छ ।’
दुई नेताबीच राम्रो समझदारी कायम भएकै कारण ओली सरकार सञ्चालनमा केन्द्रित हुने र प्रचण्डले पार्टी चलाउने सहमति भएको भन्दै उनले भने, ‘एउटा पार्टी र सरकारको अस्थिरता अन्त्य गर्यो ।’
यदि यो सहमति दाउपेच होइन भने सरकार र पार्टी दुबैलाई गति दिने अवसर भएको नेकपाका नेताहरु बताउँछन् । तत्कालीन एमाले र माओवादी एकताका शूत्रधार बिष्णु पौडेल र जनार्दन शर्माको पनि समान प्रतिक्रिया छ-सबैखाले भ्रम र अन्तरविरोध सिर्जना गर्न खोज्ने प्रवृतिलाई दुवै अध्यक्षले जवाफ दिएका छन् । अब दुई अध्यक्षको आपसी एकता र पार्टीको आन्तरिक जीवन बलियो भएको छ ।’