‘सीमा मिच्न पाइँदैन, यस्तो छिमेकी चाहिँदैन’ काे नारा मुगुमा घन्कियो
(मुगु) भारत सरकारले एक पक्षीय रूपमा ल्याएको राजनैतिक नक्सामा नेपालको कालापानी र लिपुलेख ओगटेको विरोधमा मुगुमा पनि प्रदर्शन भएकाे छ ।
मुगु जिल्लास्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा बिहीबार साँझ भारतविरुद्ध चर्काे नारा लगाउँदै सदरमुकाम गमगढी बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरिएको हो ।
पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भूभाग एक इन्च पनि गुमाउन हामी चाहँदैनौं, राज्यले आदेश मात्र देओस् हामी मर्न पनि तयार छौँ,’ रारा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति चन्द्र प्रकाश मल्लले भन्नुभयाे । कालापानी, लिपुलेख मात्र हाेइन नेपालको साबिकको नक्सा नै बिग्रने गरी भारत र चिनले मिचेका नेपालका अन्य भूभागको समेत कूटनैतिक तवरबाट पहल गरी फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरूले सरकार समक्ष माग गरेका छन् ।
विरोध र्यालीमा सहभागीहरू ‘नेपाली भूभाग फिर्ता गर, सीमा मिच्न पाइँदैन, यस्तो छिमेकी चाहिँदैन, गोर्खालीका सन्तान हौँ पछि हामी हट्दैनौं, अघि बढ सरकार हामी तिम्रो साथमा छौँ’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक, मेयर चोक, अदालत चोक हुँदै बजार परिक्रमा गरेको थियो ।
प्रदर्शनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र स्वतन्त्र युवाहरूको सहभागि थिए ।