बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
काठमाडौं : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बर्दियाको गेरुवा गाउँपालिका ४ दमपुरकी ५६ वर्षीय रामकली शाहीको बाघको आक्रमणबाट ज्यान गएको हो। बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको सामुदायिक वनबाट आएको बाघले आक्रमण गर्दा शाहीको ज्यान गएको गेरुवा उपभोक्ता समितिका अध्यक्ष झनक कुमार ढकालले जानकारी दिए।
घर नजिकैको खेतमा घाँस काटिरहेको अवस्थामा शाहीलाई बाघले आक्रमण गरेको थियो। पाटेबाघले आक्रमण गरेपछि शाहिको घाँटी र कोखामा ठूलो चोट लागेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।