बझाङमा परिचय नखुलेको समूहले एक महिलाको गहना लुटपाट
बझाङ २१ साउन । बझाङमा एक जना महिलाको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ ।बझाङको थलारा गाँउपालिका– ५ हाट घर भएकी २२ वर्षीया विमला ओलीको परिचय नखुलेको एक समूहले गहना लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
सोमबार बेलुका केदास्युँ गाँउपालिका ९ माइती घरबाट घर जाने क्रममा थलारा गाँउपालिका ३ को शिलाकोट भन्ने स्थानमा एक समूहले गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार ओलीको टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास भएको बताएको छ । उहाँको अवस्था भने गम्भीर रहेको छ । साथै उहाँकै साथमा रहनुभएकी १३ वर्षीया बहिनी सुलोचना ओलीमाथि समेत लुटेरा समूहले आक्रमण गरेका छन। बहिनी सुलोचना पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
घाइते विमला र सुलोचनाको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ ।घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेको नेतृत्वमा प्रहरी टोली खटिएको जाएनाको छ ।