'सरकार हेलिकोप्टरमा देखिने होइन जमिनमा भेटिने होस्' : डा. रिजाल
काठमाण्डौ : संघीय संसद प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मिनेन्द्रप्रसाद रिजालले प्राकृतिक प्रकोपबाट पीडित जनता भएको ठाउँमा पुग्नुपर्ने बताएका छन्। उनले सरकार हेलिकोप्टरमा देखिने नभई जमिनमा भेटिने हुनुपर्ने बताए। प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै सांसद रिजालले प्राकृति प्रकोप र विपद्बाट पीडित जनताको अवस्था सुधारका लागि र भविष्यमा त्यस्ता विपद् रोक्नका लागि भूमिका खेल्नुपर्ने बताए। उनले भने, 'तल राहत कुरिरहेका पीडितका सामू हेलिकोप्टरको रूपमा सरकार नपुगोस्। राहत खोजेका जनतामा सरकार जाओस्।' रिजालले कांग्रेसले सरकारको आलोचना मात्रै नगर्ने बताए। उनले सरकारलाई पीडितलाई मल्हम दिनका लागि अभिप्रेरित गर्नका लागि आफू संसदमा उभिएको बताए। उनले विपत्तीमा परेका जनतालाई साथ दिन सरकार र प्रतिपक्ष एकसाथ रहनुपर्ने बताए।
स्थानीय तहलाई विपत्तीमा परेका जनताको उद्दार र राहत दिनेमा बलियो बनाउनुपर्ने रिजालको भनाइ थियो। उनले भने, 'स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ। विपत्तिमा परेको जनताले हेलिकोप्टरको सरकार खोज्दैन। स्थानीय सरकारलाई खोज्छ।' उनले थपे, 'जनतामा परेको विपत्तीमा मल्हम लगाउन सत्ता र प्रतिपक्ष बन्नु हुँदैन।' सत्तपक्षले पनि उक्त प्रस्तावलाई साझा बनाउन भूमिका खेलेको भन्दै रिजालले जानकारी दिए। सुरुमा उक्त प्रस्ताव कांग्रेसले ल्याएको थियो जसमा नेकपाले पनि समर्थन जनाएको बताइएको छ।
रिजालले सरकारले बाढी र डुबान तथा पहिरो पीडितको अवस्थाबारे गृहमन्त्रीलाई सदनमा जानकारी दिन पनि आग्रह गरेका थिए। उनले भने, 'गृहमन्त्रीले गर्न सकेका कुरा पनि भन्नुस् र नसकेका कुरा पनि संसदलाई भन्नुस्। आफूले गर्न खोजेका कुरा पनि भन्नुस्। सरकारले जनताको काम गर्ने हो र हामीले सही किसिमले काम गरेको छ कि छैन भन्ने हेर्ने हो। हरेक सांसदले सरकारलाई जनताप्रति फर्काउने हो। प्रतिपक्षको मात्रै होइन सबै सांसदहरूको त्यो धारणा हुनुपर्छ।' उनले सांसदहरू प्रभावित क्षेत्रबाट फर्केर आएकाले आफूसँग भएका सूचना सरकारलाई दिन आग्रह गरे। उनले त्यसबाट पीडितको लागि सरकारले सही किसिमले काम गर्न सक्ने धारणा राखेका थिए।
रासस