धम्कीको भाषा नबोल्न प्रदेश सरकारलाई आपूर्तिमन्त्रीको चेतावनी
काठमाडौं १० श्रावण । संघीय सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले धम्कीको भाषा नबोल्न प्रदेश २ सरकारलाई चेतावनी दिएका छन् ।
जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै आपूर्तिमन्त्री यादवले प्रदेश २ को विकासमा प्रदेश सरकार नै बाधक भएको आरोप लगाए ।
संघीय सरकारले बन्द उद्योगहरु संचालन गर्न खोजेपनि प्रदेश सरकार बाधक बनेको उनले बताए । सरकारले जनकपुर चुरोट कारखाना फेरि चलाउन खोजेको तर प्रदेश सरकारले कब्जा जमाएर बसिरहेको उनको आरोप छ । ‘विकास गर्ने हो भने, कब्जा गर्ने नीतिलाई छाड्नुपर्छ’ मन्त्री यादवले भने, ‘संघ र प्रदेशसँगै सहकार्य गरेर अगाडि बढ्नु जरुरी छ ।’
मन्त्री यादवले केहि दिन अगाडि जनकपुर चुरोट कारखानाको निरीक्षण गरेका थिए ।जनकपुर चुरोट कारखाना संचालनको कुरा गर्दा प्रदेशका मन्त्रीहरुले धम्कीपूर्ण भाषाको प्रयोग गरेको भन्दै उजले भने, ‘प्रदेश सरकार बिना बन्दुकको आवाज लगाइरहेको छ । यस किसिमको धम्कीको भाषा प्रयोग नहोस् ।’धम्कीपूर्ण भाषाले प्रदेश समृद्व बन्न नसक्ने भन्दै उनले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
मन्त्री यादवले बुद्ध एयरको जहाजमा हवाई इन्धन भरेर रिˆयुलिंग स्टेशनको उद्घाटन गरे । हवाई इन्धन जनकपुर विमान स्थलमै भर्ने व्यवस्था नहुँदा उहाँबाट उडान भर्ने जहाजहरुलाई काठमाडौं, भैरहवा, विराटनगरसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।