कुलेखानी भरिएपछि ड्याम खाेलिँदै, आसपासका नागरिकलाई सतर्क रहन आग्रह
काठमाण्डौ – मकवानपुरको कुलेखानी ड्याममा पानी भरिएर खतराको संकेतमा पुगेपछि ड्याम खोलिने भएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको छ । कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गरे ।
कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । सोमबार बिहान ८ बजेबाट कुलेखानी ड्यामभित्रको पानी ढोका खोलेर बाहिर छोडिने भएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो ।
कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले त्यस आसपासका क्षेत्रमा रहेकाहरु विशेष सतर्क बस्न प्रमुख जिल्ला अधिकारी तामाङले आग्रह गर्नुभयो ।