पहिरोले बन्द भएको खाँदबारी–किमाथाङ्का सडक एक महिनापछि खुल्यो
काठमाण्डौ १४ श्रावण । संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का जाने सडकखण्ड अन्तर्गत मकालु गाउँपालिकाको नयाँबस्तीमा गएको पहिरो हटाएपछि सडक खुलेको छ ।अविरल वर्षापछि गएको असार २ गते खाँदबारी—किमाथाङ्का सडकखण्ड अन्तर्गत मकालु गाउँपालिकाको – ५ र ३ जोड्ने नयाँबस्तीमा सडक माथिबाट पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि विकट उत्तरी क्षेत्रसँगको सम्पर्क नै टुटेको थियो ।
पहिरो हटाउन स्थानीयहरुले पटक–पटक प्रयास गरे पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि लामो समय लागेको स्थानीयहरुले बताए । भिरालो भूभाग र अर्को वैकल्पिक बाटोसमेत नहुँदा स्थानीयहरुलाई फ्याक्सिन्दादेखी नयाँबस्ती जान मुस्किल पर्ने गरेको थियो । पहिरोले पैदल हिँड्ने स्थानीयबासिन्दा समेत आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएपछि स्थानीय, सडक कार्यालय, अरुण तेस्रो आयोजना र नेपाली सेनाको सहयोगमा पहिरो हटाएर पैदल आवातजावात गर्न सहज बनाएको हो ।
तर स्थानीयहरुले यातायातका साधनहरु नै आवात–जावात गर्ने बनाउनका लागि मकालु गाउँपालिका, उत्तरदक्षिण कोशी सडक र अरुण तेस्रो आयोजनालाई बाटो मर्मतका लागि अनुरोध गरेको थियो । सदरमुकाम खाँदबारीदेखि उत्तरीक्षेत्र भोटखोला गाउँपालिका जाने मुख्य सडक नै अवरुद्ध भएपछि लगातार रुपमा पहिरो हटाउन लागि परेको उत्तरदक्षिण कोशी सडक आयोजना प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो ।पहिरोले अवरुद्ध बनेको खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा आएपछि स्थानीयहरु खुशी भएका छन् । केही साता अघि भोटखोला सरोकार समाजले पहिरोले सडक बन्द भएपछि भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको भन्दै सबैतिर ध्यानाकर्षण गराएका थिए । जतिसक्दो चाँडो पहिरो हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मकालु युवा समाज र भोटखोला सरोकार केन्द्रले ज्ञापनपत्र समेत बुझाएका थिए ।
सडक अवरुद्ध भएपछि मकालु गाउँपालिकाका विभिन्न वडा र भोटखोला गाउँपालिकाको सीमावर्ती विकट क्षेत्र किमाथाङ्का, हटिया, हुङहुङ, चेपुवा र च्याम्ताङलगायत बस्तीहरुसँग प्रत्यक्ष रुपमा यातायात सेवाबाट बञ्चित भएका थिए ।thakhabr