सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद
काठमाडौं : दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुई जनालाई १२/१२ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२ वर्ष कैद फैसला सुनाएको हो ।
उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२ वर्ष कैद र पीडितलाई दुवैबाट ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला भएको हाे । २३ असार २०७१ मा बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई १८ पुस २०७५ मा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
अदालतले घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सफाइ दिएको हो । घरमा काम गर्न राखेकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो ।