विराटनगरबाट ६० किलाेग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ
विराटनगर : विराटनगर महानगरपालिका-१२ स्थित रोडशेष चोकबाट प्रहरीले ५९ केजी ९ सय ३४ ग्राम चाँदी बरामद गरेकाे छ । प्रहरीका अनुसार चाँदीको टुक्राहरुसहित भारत जोगबनी-१६ बस्ने २४ वर्षीय गौरव कुमार साह पक्राउ परेका हुन् । नेपाली बजारको आजको मूल्य अनुसार बरामद चाँदीकाे कुल मूल्य ३६ लाख ९९ हजार ६ सय ३० रूपैयाँ पर्न आउँछ । जिल्ला प्रहरी कार्यालय मोटङबाट खटिएको प्रहरीले बिआर ११ एके १७९१ नम्बरको कार जाँच गर्ने क्रममा कारको सिटमुनि प्लाष्टिक तथा कार्टुन टेपले बेरिएको अवस्थामा लुकाइछिपाइ राखेको उक्त परिमाणको चाँदीजस्तो देखिने सेतो धातुको टुक्राहरु फेला पारी चालक साहलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले तीनवटा पाेकामा लुकाइ लैजाँदै गरेकाे चाँदी बरामद गरेकाे हाे । पहिलो पोकामा प्लाष्टिकबाहेक १९ केजी ९८० ग्राम, दोस्रो पोकामा १९ केजी ९७८ ग्राम र तेस्रो पोकामा १९ केजी ९७६ ग्राम समेत गरी जम्मा ५९ केजी ९३४ ग्राम तौल रहेको ३ (तीन) वटा पोकामा रहेको चाँदीको दानाहरू (टुक्राहरू) फेला परेको जनाएकाे छ। पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
डीएसपी घनश्याम श्रेष्ठले पक्राउ परेका अभियुक्तहरूले चाँदी विराटनगरमै प्राप्त भएको बयान दिएको बताए । पक्राउ परेका व्यक्ति भरिया नभई कारोबारी भएको उनले बताए ।