झापामा खोलाले बगाउँदा एक बालकको मृत्यु, एक बेपत्ता
काठमाडौं : साइकल चढेर घरबाट खेल्न निस्किएका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ, भने एक जना बेपत्ता भएका छन्। खोलामा डुबेर झापा बाह्दशी गाउँपालिका २ बस्ने रोहित मलिक (डुम)का ११ वर्षीय छोरा सागरको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै खोलाले बगाउँदा सोही गाउँपालिका बस्ने सन्तोष मलिक (डुम)को १२ वर्षीय छोरा बादल बेपत्ता भएको जनाइएको छ।
प्रहरीका अनुसार दुवै बालक घरबाट साइकल चढेर खेल्न निस्किएको र घाग्रा खोला तर्ने क्रममा साइकलसहित दुवै जनालाई खोलाले बगाएको हुन सक्ने जनाइएको छ। बाह्दशी १ सिप्ताबारी नजिक बिरीङ खोलामा साइकल तथा उनीहरूले लगाएको कपडा फेला परेपछि बालकद्वयको खोजी कार्य तीव्र बनाइएको थियो। खोज तलास गर्ने क्रममा साइकल तथा कपडा फेला परेको स्थानभन्दा ९ किलोमिटर किलोमिटर दक्षिणमा बालक सागर मृत अवस्थामा फेला परेको थियो। बालक बादल अझै फेला नपरेको हुँदा उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।