काठमाडौं महानगरपालिकाद्धारा मातृभाषाका कक्षा सञ्चालन गर्दै
काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थानीय मातृभाषाको कक्षा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाभित्र विभिन्न जाताजातिले बोल्ने मातृभाषाको संरक्षणको लागि काठमाडौं महानगरपालिकाले कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको हो। भाषा तथा कला र संस्कृतिको लोप हुन नदिनको लागि महानगरले भाषाको कक्षा सञ्चालन गर्न लागेको महानगरले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारले स्थानीय भाषाको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। सोही प्रावधानअनुसार महनगरले काठमाडौंमा अस्तित्व रहेको भाषाको संरक्षण गर्न लागेको हो। यसअघि भने महानगरले भाषा संस्कृतिको संरक्षणको लागि कुनै पनि कार्यक्रम गरेको थिएन।
महानगरको संस्कृति, सम्पदा तथा पर्यटन विभागका अनुसार स्थानीय भाषाको संकलनको काम भइरहेको छ। बढी प्रचलनमा आएका भाषा र थोरै मात्र बोलिने भाषालाई संरक्षण गर्ने योजना रहेको संस्कृति विभागका प्रमुख न्हुच्छे काजी महर्जनले बताए। उनका अनुसार महानगरले स्थानीयले बोल्ने भाषालाई लक्षित गरी भाषा कक्षा सञ्चालन गर्नेछ। विभिन्न संघसंस्थासँग सहकार्य गरेर कक्षा सञ्चालन गर्न लागिएको उनले बताए। उनले भने, 'भरपर्दो संस्थाको खोजी भइरहेको छ। जुन संस्थालाई महानगरले विश्वास गर्न सकोस।' काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०६७/०७७ मा भाषा, संस्कृति तथा पर्यटन विकासको लागि ५४ करोड, ७९ लाख, ६७ हजार बजेट विनियोजन गरेको छ ।
रासस