प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आरुघाटमा चौतारा संरक्षण
गोरखा : गोरखाको आरुघाट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चौतारा संरक्षण गरेको छ ।परम्परागत चौताराहरु नासिने क्रम बढ्दै गएको बेला कार्यक्रम अन्तरगतको रकमले चौतारा संरक्षणको काम गरेको गाउँपालिकाका अध्यक्ष पुर्ण दाहालले जानकारी दिए । कार्यक्रम मार्फत गाउँपालिकामा १६ चौतारा बनाएको गाउँपालिकाका रोजगार संयोजक महेश खत्रीले बताए । ‘पुरानो चौतारा मर्मत गरेका छौं’ दाहालले भने ‘एक चौतारो मर्मतका लागि एक लाख १० हजार देखि एक लाख ९० हजार रुपैयाँ सम्म खर्च भएको छ ।’ परम्परागत रुपमा ढुंगाको प्रयोग गरेर आकर्षक चौतारा बनाएको बताए।
‘पहिलेका चौतारा जस्तो हुन्थ्ये, त्यस्तै बनाएका छौं ।’ उनले भने । सडक र वस्ती आसपासका क्षेत्रका चौतारालाई प्राथमिकता दिएर सबै वडामा चौतारा मर्मत गरेको उनले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका दुई सय ५२ जनाले चौतारो बनाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सो गाउँपालिकामा २८ लाख रुपैयाँ प्राप्त भएको थियो ।
सो रकमबाट १६ चौतारा बाहेक छापगाउँ आहाल, छापगाउँ निलकन्ठ, र ढोङ्गचेत कोकाङ गोरेटो बाटो, सडकमा ढल बयबस्थापन, पर्खाल निर्माण लगायतका योजना पनि सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।