अर्थ नीति किन रद्द भयो अर्थमन्त्रीको विदेश भ्रमण ?
काठमाण्डौ १ साउन ।अर्थमन्त्री डा. युवराज खतिवडाको विदेश भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको अर्थमन्त्री डा. खतिवडाको लक्जेम्बर्ग भ्रमण अन्तिम समयमा प्रधानमन्त्रीले रोकिदिएका हुन् ।
अर्थमन्त्री डा. खतिवडाको विदेश भ्रमण रद्द भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । भ्रमण रद्दको कारण थाहा नभएको स्रोतको भनाइ छ ।
‘अर्थमन्त्रीज्यू, लक्जेम्बर्ग भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । अन्तिम समयमा आएर रद्द भयो भन्ने सुनियो । किन रद्द भयो भन्ने थाहा भएन,’ अर्थ मन्त्रालय स्रोतले शिलापत्रसँग भन्यो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्री खतिवडा जान स्वीकृत भएको भ्रमणमा पछि अर्थ मन्त्रालयकै एक सहसचिवलाई पठाइएको छ । चीनको अग्रसरतामा खोलिएको एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडासँगै ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्मा पनि जाने कार्यक्रम तय भएको थियो ।
अन्तिम समयमा अर्थमन्त्री डा. खतिवडाको भ्रमण रद्द भए पनि ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्मा भने लक्जेम्बर्ग गएर नेपाल फर्किसकेका छन् ।
प्रधानमन्त्री ओलीले आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरु हुने समयमा अर्थमन्त्री विदेश जाँदा असर पर्ने भन्दै नजान सुझाएपछि अर्थमन्त्री खतिवडाले भ्रमण रद्द गरेको स्रोतको दाबी छ ।
गत आर्थिक वर्षमा अर्थ मन्त्रालयले राखेको बजेट खर्च, राजस्व असुली, आर्थिक वृद्धिजस्ता प्रमुख लक्ष्य हासिल भएका छैनन् । सिलापत्र