भोजपुर सिँचाइ कार्यालयका सिनियर डिभिजन इन्जिनियर एक लाख ८० हजार घुससहित पक्राउ
काठमाडौं : असार मसान्तको मैझारो चलिरहेका बेला भोजपुरमा एकजना कार्यालय प्रमुख एक लाख ८० हजार घुससहित समातिएका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका-१३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन्।
अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालका अनुसार सेवाग्राहीबाट लिइसकेको एक लाख ८० हजार रुपैयाँ घुससहित यादवलाई भोजपुर नगरपालिका-७ स्थित फुपू भदैनी होटलबाट रङ्गेहात पक्राउ गरी अनुसन्धान थालिएको छ। ९८ लाख रुपैयाँको उक्त सिँचाइ आयोजनामा यो आर्थिक वर्षमा १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँ खर्च गर्ने सम्झौता गरिएको थियो । इन्जिनियर यादवले यो सिँचाइ अन्य आयोजनाबाट पनि २० प्रतिशत भन्दा धेरै कमिशन माग्दै आएका थिए। आजित भएका उपभोक्ता समितले यादवलाई पक्राउ गर्न अख्तियार गुहारेका हुन्।
राससबाट